काठमाडौं । अपि पावर लिमिटेडले ५ दशमलव २६ प्रतिशत लाभांशसँगै ३० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
५ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीका आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीले दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणधिन ५० मेगावाट क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्न हकप्रद शेयर निष्कासन गर्ने बताएको छ।
यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
