गोबर गणेश फिल्मको प्रचारमा ब्यस्त : मरिचमान श्रेष्ठ

Logo
Bhim paudel सोमबार, माघ ०५, २०८२

काठमाडौं । हास्य टेलिभिजन कार्यक्रममार्फत लोकप्रिय बनेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ यतिबेला आफ्नो डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रवर्द्धनमा सक्रिय छन् । फिल्म रिलिज भएसँगै उनी दर्शकसम्म पुग्ने अभियानमा जुटेका छन्। हल–हलमा पुगेर प्रत्यक्ष रूपमा दर्शकसँग भेटघाट गर्ने, प्रतिक्रिया सुन्ने र फिल्मको सन्देश साझा गर्ने काममा उनी व्यस्त देखिन्छन् ।

शुक्रबार र शनिबार बल्छी धुर्बेले काठमाडौं उपत्यकाका विभिन्न चलचित्र हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । साथै आइतबार को हल पनि फुल प्याक रहेको छ । कलाकार पूजन घिमिरे ‘पुकु’, सीतादेवी तिमल्सिना र पदम तामाङसहित उनी हलमा दर्शकको प्रतिक्रियामा रमाइरहेका छन् । फिल्म हेरेपछि दर्शकले दिएका प्रतिक्रिया सुन्दा उनी उत्साहित मात्र होइन, भावुक समेत देखिन्छन् ।

दर्शकीय प्रतिक्रियाले आफूलाई गहिरो रूपमा छोएको बताउँदै मरिचमानले फिल्मप्रति सकारात्मक प्रतिक्रिया आइरहेको दाबी गरे । ‘एकदमै गजब प्रतिक्रिया पाइरहेका छौं । जसले पनि हेर्नुभएको छ, सबैको प्रतिक्रिया सकारात्मक छ,’ उनले भने, ‘आमाले सन्तानका लागि गर्ने त्यागको कथालाई दर्शकले गहिरोसँग महसुस गर्नुभएको छ।’

फिल्म हेरेपछि कतिपय दर्शक भावुक बन्दै बल्छी धुर्बेको काँधमा टाउको राखेर रोकेको दृश्य सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ । विशेषगरी आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको कथाले दर्शकलाई छोएको देखिन्छ । तन्नेरी उमेर समूहदेखि वयोवृद्ध दर्शकसम्म हलमा पुगेर फिल्म हेरेको दृश्यले फिल्मको प्रभाव र पहुँचलाई संकेत गर्छ ।

‘हिजोसम्म मनमा डर थियो, दर्शकले कसरी लिन्छन् भन्ने,’ मरिचमानले भने, ‘आज जुन प्रतिक्रिया पाइरहेको छु, त्यसले मन निकै खुसी भएको छ ।’ यस फिल्मका निर्देशक स्वयं बल्छी धुर्बे हुन् । उनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन् भने वर्षा सिवाकोटीले पनि मुख्य भूमिकामा अभिनय गरेकी छन् ।

टेलिभिजन श्रृंखलाबाट स्थापित पहिचान बनाएका मरिचमान श्रेष्ठले यही फिल्मबाट घरेलु चलचित्र निर्देशन र अभिनयमा डेब्यू गरेका हुन् । पहिलो प्रयासमै दर्शकको सकारात्मक प्रतिक्रिया पाउनु उनका लागि उत्साहजनक उपलब्धि बनेको छ । प्रारम्भिक व्यापार र दर्शक चासोका आधारमा फिल्मको पहिलो सप्ताहन्त बक्स अफिस प्रदर्शन पनि सन्तोषजनक देखिएको छ ।

काठमाडौंमा प्रचार अभियान सकिएपछि बल्छी धुर्बे र पूजन घिमिरे आगामी साता मोफसलका विभिन्न हलमा पुगेर दर्शक भेट्ने तयारीमा छन् । राजधानी केन्द्रित प्रचारभन्दा बाहिर निस्केर मोफसलमा दर्शकसँग साक्षात्कार गर्ने योजनाले फिल्मप्रति निर्माताको आत्मविश्वास र दर्शकप्रतिको सम्मान झल्काउँछ ।

डेब्यू फिल्ममार्फत निर्देशक र अभिनेताको दोहोरो जिम्मेवारी सम्हालेका बल्छी धुर्बेले दर्शकको विश्वास जित्न सफल देखिएका छन् । ‘गोबर गणेश’ ले भावनात्मक कथावस्तु र सामाजिक संवेदनालाई केन्द्रमा राख्दै नेपाली फिल्म बजारमा फरक उपस्थिति जनाउने संकेत गरेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला