काठमाडौं । लोक आधुनिक शैलीको गीत‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच बरिष्ठ गायिकाहरु कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ । यस्तै राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य रहेको छ । भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन छ । शुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ्ग बिटमा आधारित छ । गीतमा आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई समेटिएको छ ।

साढे दुई दशक देखि निरन्तर संगीतकर्ममा सक्रिय गायिका मानन्धरको श्रृतिमधुर स्वरले गीतलाई भावनात्मक बनाएको छ । गायिका मानन्धरले संगीतकार थापाको प्रसंसा गर्दै उनको संगीतमा स्वर दिन निकै मेहनत गर्नु परेको बताइन । आफुले सक्दो राम्रो गाउने कोसिस गरेको भन्दै उनले शब्द र संगीतको उत्कृष्ट संयोजनले गीत पनि उत्कृष्ट बनेको बिश्वास राखिन । उनले गीतकार खनालका शब्दहरु भावनात्मक रहेकोले आफुलाई मन परेको समेत बताइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरिष्ठ गायिका कुन्ति मोक्तानले बबिताको स्वरको मुक्त कण्ठले प्रसंसा गरेकी छिन । उनले बबिताले जस्तो सुकै जनराको गीतलाई पनि न्याय गर्न सक्ने जनाइन । यस्तै बरिष्ठ गायिका सुक्मित गुरुङले बबिताको गायकी उच्च कोटीको भएको बताएकी छिन । उनले ‘कलियुगकी राधा’को शब्द, संगीत र भिडियो समेत निकै राम्रो बनेको प्रतिक्रिया दिइन ।
कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ गायिका मोनिला सोताङले ‘कलियुगकी राधा’ले दर्शक स्रोताको मन जित्ने बिश्वास राखिन । आफुलाई हरेक कोणबाट अडियो र भिडियो दुबै मन परेको उनको भनाई छ । यस्तै अर्की बरिष्ठ गायिका देबिका बन्दनाले चलचित्रका थुप्रै आइटम गीतमा बबिताकै स्वर सुन्दै आएको र आज पनि उनको स्वरको गुणस्तर उस्तै रहेको बताइन ।
कार्यक्रममा बोल्दै संगीतकार थापाले नेपाली संगीतका सिद्धहस्त अग्रज गायिकाहरुको बाहुलीबाट गीत बिमोचन गर्न पाउनु आफुहरुका लागि गर्वको क्षण भएको बताए । यस्तै मोडल आश्मा बिश्वकर्माले दर्शकहरुले गीत तथा भिडियो मन पराउने विश्वास राखिन ।
को हुन् बबिता मानन्धर ?

सुमधुर स्वरकी धनी गायिका बबिता मान्धरले २०५७ सालमा प्रदर्शनमा आएको फिल्म ‘चलचित्र’बाट पाश्र्व गायन शुरु गरेकी हन् ।
साढे दुई दशक लामो सांगीतिक यात्राको क्रममा उनले चाहछु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायत झण्डै २ दर्जन चलचित्रमा प्लेब्याक गरेकी छिन । चलचित्र बाहेक अन्य जनरामा ५ दर्जन हाराहारीका गीतमा उनले स्वर दिएकी छिन ।
भर्सटायट गायिकाका रुपमा आफुलाई स्थापित गर्नु सफल मानन्धरले फिल्मी, आधुनिक, पप, लोकपप, भजनलगायतका बिबिध जनरामा गीत गाउनुका साथै नेपालीमात्र नभएर नेवारी, हिन्दी तथा बंगाली भाषामा समेत गीत गाएकी छिन ।
‘भाग्य’ र ‘प्रेम’ गरि नेपाली गीतको दुईवटा एल्वम सार्वजनिक गरेकी गायिका मानन्धरको बंगाली गीतको एल्बम समेत बजारमा आएको थियो । गायिका मान्धरका ‘बाँधी दिए मायाको डोरीले’, ‘देउराली भाके हजुर’, ‘आत्मामा’ लगायत ३ दर्जन भन्दा बढी गीतहरु हिट छन् ।
मानन्धर गायिकाका साथै गीतकार तथा संगीतकार पनि हुन् । उनको संगीतमा अञ्जु पन्तले स्वर दिएको गीत ‘आफ्नै सासको त छैन भर’ निकै लोकप्रिय समेत छ । गायिका मानन्धरले भारत, चिन, बेलायत, सिङ्गापुर, दुबई, जापानलगायतका देशमा समेत सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेकी छिन । गायिका मानन्धरले उत्कृष्ट गायकीका लागि अमिन राष्ट्रिय अवार्डलगायतका थुप्रै अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेकी छिन ।
भिडियो लिंन्क https://www.youtube.com/watch?v=vUllJeJxky8
