हुम्ला । हिमाली जिल्लाका उच्च क्षेत्रमा रहेका मतदान स्थल तथा मतदान केन्द्रमा खटिने कर्मचारीहरूका लागि निर्वाचन आयोगले छुट्टै सेवा सुविधको व्यवस्था गरेको छ । कर्णाली प्रदेशका केही मतदान केन्द्रहरू ३ हजार मिटर भन्दा माथि नै रहेकोले यी मतदाने कन्द्रमा खटिने कर्मचारीहरूका लागि केही फरक सेवासुविधाको व्यवस्था गरेको हो ।
नाम्खा गाउँपालिका छवटै वडामा रहेका १२ वटा मतदान केन्द्रका लागि अन्य मतदान केन्द्रमा खटिने कर्मचारीहरूको तुलनामा केही सेवा सुविधा व्यवस्था गरिएको निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो । जसमा ६४ जना कर्मचारी र ३० जना स्वयमसेवक रहेका छन् । खटिने कमचारीहरूलाई नगद उपलव्ध भन्दा पनि लेक लागेमा उनिहरूको स्वास्थ्यलाई मध्य नजर गर्दै औषधि उपचारको व्यवस्था हुने बताइएको छ ।
उच्च हिमाली जिल्लाका रुपमा चिनिएको हुम्ला जिल्लाका उक्त मतदान केन्द्रहरू ३ हजारदेखि ५ हजार मिटरसम्म भएकाले खटिने कर्मचारीलाई छुट्टै व्यवस्था गरिएको छ । निर्वाचन सामग्री सहित मतदान केन्द्रमा खटिने यहाँका कर्मचारीको भत्ता, ढुवानी र हेलिकप्टरको खर्च समेत जिल्ला निर्वाचन कार्यालय हुम्लमा आएको निर्वाचन अधिकारी रोकायाले बताउनुभयो ।
तीन हजार मिटरभन्दा माथि लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन पूर्व र निर्वाचन पश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरुले अनुरोध गरेका थिए ।
त्यसैगरी निर्वाचनमा खटिएका कर्मचारीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर आयोगले दिनुपर्नेमा जोड दिइएको थियो । प्रतिनिधिसभा निर्वाचनमा हुम्ला जिल्लामा एक निर्वाचन क्षेत्र, ३४ हजार ३ सय ७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् ।
