हुम्ला । फागुन २१ गते हिजो प्रहतिनिधिसभा सदस्य निर्वाचन सकियो । तर गाउँबस्तीका मतदाताहरूमा भने निराशा छाएको पाइएको छ । विगत जस्तै हुम्लाका मतदाताहरूले यो पटक पनि स्वतन्त्र रुपमा आफ्नो मत आफैले मतदान गर्न नपाएको सञ्चारकर्मी र पर्यवेक्षकहरूले निश्र्कष निकालेका छन् । विगत लामो समयदेखि हुम्लाका मतदाताहरूले स्वतन्त्र रुपमा मताधिकार प्रयोग गर्न नपाएको अवगत नै थियो र तर यसपालिको निर्वाचनमा पनि अधिकांस मतदाताले आफ्नो हातबाट आफै मतदान गर्न नपाउँदा थप निराशा छाएको देखिएको छ ।
विगतका निर्वाचन भन्दा यो पटकको निर्वाचन केही थोरै फरक भएको महसुस भएपनि नागरिकले स्वतन्त्र मतदान गर्न नपाएको कुरा सम्वन्धित निकायसम्म जानकारी नगराँैदा उही पुरानै प्रविधि र उम्मेदवारका प्रतिनिधि हावि देखिए । जिल्लामा पुनः यो पटक पनि कानुन विपरितको वारिसनामा भयो । उपस्थित नभएको व्यक्तिको फर्जि मत समेत खसे । मतदानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको सहमतिमा वारेसनामा र फर्जि मत खसालियो ।
यस कार्यले हुम्ली मतदाताका लागि कुनै नौलो कार्यत हैन तर पनि २१ औँ सताव्दीमा समेत यहाँका सर्वसाधारण नागरिकले आफ्नो मताधिकारबाट बञ्चित हुनु उपयुक्त नभएको महसुस गरेका छन् । निर्वाचन हुनु पहिले जिल्ला सदरमुकाम सिमकोटमा वारेसनामा र फर्जि मत हाल्न नमिल्ने विषयमा निकै चर्चा भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकमा यहाँका सरोकारवाला निकाय, राजनितिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरू सबैको एउटै आवाज उठ्यो ।
तर पनि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको मिलोमोतोमा उही पुरानै कामको थालनी भएको जिल्लाका सञ्चारकर्मीले गरेको अनुगमन र पर्यवेक्षकले गरेको पर्यवेक्षणका क्रममा यस्तो तथ्य भेटिएको हो । वारेसनामा र फर्जि मत खसाल्ने विषयमा नाम्खा, सिमकोट, सर्केगाड र अदानचुलीका केही मतदान केन्द्रमा उक्त विषयमा विवाद भए पनि जिल्लाका सातवटा गाउँपालिकका अधिकांस मतदान केन्द्रमा यो समस्या देखिएको थियो ।
मतदानका क्रममा एकजना व्यक्तिले करीव ५० जना भन्दा बढीको मतदान गरेको पाइएको छ । मतदान केन्द्रमा निर्वाचन आयोगमा दर्ता भएका कुल मतदाताको संख्यालाई भागबण्डका आधारमा मतदान गरेको अनुगमनका क्रममा देखिएको थियो । हुम्लामा मतदान गर्नका लागि फर्जि मत हाल्न बालबालिकाको समेत प्रयोग गरिएको पाइएको छ ।
