हुम्ला । शैक्षिकसत्र २०८३ सुरू भएसंगै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुगेका छन् । हिमाली जिल्लाहरूमा फागुन २ गतेबाट शैक्षिकसत्र सुरु हुने गर्दछ । शैक्षिकसत्र सुरु भएसंगै हुम्लाको सदमरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाका अधिकांस विद्यालयका विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक परेको विभिन्न विद्यिालयका प्रधानाध्यापकहरूले जानकारी गराएका छन् ।
विगतका वर्षहरूमा शैक्षिकसत्र सुरु भएको करीव ६ महिना वितिसक्दा समेत विद्यार्थीको हातमा पाठ्यपुस्तकहरू उपलव्ध नहुने हुम्ला जिल्लामा भने यो वर्ष समयमै विद्यार्थीले पाठ्यपुस्तक पाएको बालमन्दिर मावि कक्षा १० मा अध्यायनरत छात्रा सुस्मिता शाहीले जानकारी दिनुभयो । हुम्ला गत असार २२ गते राष्ट्रिय सडकसञ्जालसंग जोडिएपछि जिल्ला बाहिरबाट आयत हुने पाठ्यपुस्तक सहजै रुपमा हुम्ला पुगेको पाइएको छ । विगतका वर्षहरूमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने गरेका कारण समयमै कोर्ष नभ्याइने र विद्यार्थीको पठनपाठन समेत प्रभावित हुने गरेको थियो ।
तर यो वर्षदेखि यस्तो समस्या उत्पन्न नहुनुका साथै शैक्षिक गुणस्तरमा वृद्धिविकास हुने देखिएको छ । सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्म चारवटा संस्थागत, १४ वटा आधारभूत तह र सातवटा माध्यामिक तह गरेर जम्मा २५ वटा विद्यालय रहेको सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
शाखा प्रमुख आचार्यका अनुसार शैक्षिकसत्र २०८३ मा २ हजार ९८ छात्रा र २ हजार ७० छात्र गरि जम्मा ४ हजार १ सय ६८ जना विद्यार्थीले विद्यालयमा भर्ना गरेका हुन् । उनिहरू सबैको हातहातमा पाठ्यपुस्तक पुगेको प्रमुख आचार्यको भनाई छ । यो वर्ष उक्त शाखाले फागुन १५ गतेसम्म भर्ना अभियानलाई तिव्र बनाएको थियो । भने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का कारण फागुन २५ गतेदेखि जिल्लाका सम्पुर्ण विद्यालयहरू पठनपाठन नियमित रुपमा सञ्चालनमा आएका छन् । जिल्लामा रहेका चारवटा संस्थागत विद्यालयमा भने सिमकोट गाउँपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम हाम्रो सिमकोट बाहेक अन्य विषय पठनपाठन हुँदैन ।
