हुम्ला । नेत्रज्योति संघ हुम्लाले कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एबम नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सम्मान गरेको छ । शुक्रबार नेत्रज्योति संघ हुम्ला र नेपाल रेडक्रस सोसाइटी हुम्लाको संयुक्त आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सञ्चालन गरिएको नेत्रज्योति संघ हुम्लाका सचिव बाँचबहादुर रावतले जानकारी दिनुभयो ।
पुर्व मुख्य मन्त्री शाहीले नेत्रज्योति महासंघ हुम्लाको नयाँ भवन निर्माणका क्रममा ठूलो योगदान पुराएको भन्दै सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको सो संघको आफ्नै भवनमा सम्मान गरिएको थियो । उक्त संघ हुम्लाका सभापति नरबहादुर रोकाया लगायतका पदाधिकारीहरूको पहलमा शाहीले कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेपछि उक्त भवनका लागि ३० लाख रहक बजेट विनियोजित भएको थियो ।
भवन २०८१ सालमा निर्माण गरिएको थियो । उक्त विनियोजित रकमले नेत्रज्योति संघको माथिल्लो तला निर्माण गरेको हो । उक्त संघको यसअघिको १२ औँ पुर्ण बैठकले संसदिय दलका नेता शाहीलाई सम्मान गर्ने निर्णय अनुसार आज उहाँलाई सोही संघका जिल्ला सभापति रोकायाद्धारा खादा लगाइ, सम्मानपत्र समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा शाहीलाई नेत्रज्योति संघ हुम्लाले आज फागुन २१ गतेबाट आजीवन सदस्यको प्रमाणपत्र समेत प्रदान गरेको छ ।
शाहीको भवनप्रतिको पहलकदमी र योगदानको कदर गर्दै कार्यक्रम मार्फत निशुल्क रुपमा आजीवन सदस्यको प्रमाणपत्र संगै संघको लोगो समेत प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै पुर्व मुख्य मन्त्री शाहीले आजबाट पुनः अर्को जीम्मेवारी काँधमा आएको बताउनुभयो । उहाँले नेपालभर अन्धोपनलाई हटाउने उदेश्यका साथ यो संघ स्थापना भएको बताउनुभयो । थप जिम्मेवारी काँधमा आएकोले यसका लागि आवश्यक पर्ने जनशक्ति र स्रोतसाधनको समेत आवश्यकता परा गर्नका लागि सदैव पहलकदमी चाल्ने शाहीले प्रतिवद्धता जनाउनुभयो ।
