हुम्ला । जिल्लामा खानेपानीको चरम अभाव भएपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको टोलि हुम्लामा पुगेको छ । विगत लामो समयदेखि हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकासन भएपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको टोली हुम्ला आइ पुगेको हो ।
बुधबार सदरमुकाम सिमकोट पुगेको टोलिले जिल्ला प्रशासन कार्यालय हुम्लामा सर्वदलिय सर्वपक्षिय बैठक समेत राखेको छ । बैठकमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख मनोजराज दैबग्यले जिल्लामा खानेपानीको समस्याका विषयमा यहाँका उपभोक्ता, राजनितिदल, खानेपानीसंग सम्वन्धित निकाय र सञ्चारकर्मीहरूलाई बुझ्नु भएको थियो ।
सर्वदसलय सर्वपक्षिय बैठकमा खानेपानीका विषयमा जानकारी गराएपछि उक्त समस्या समधान गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालयको रोहबरमा समस्या समाधान गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चन्दका अनुसार साबिक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्ला हाल खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतले निर्माण गरेको सिमकोट खानेपानी आयोजनाको बारेमा छलफल गरिएको हो ।
ठेक्का सम्झौता अनुसार कार्य स्वीकार एवं कार्यसम्पन्न प्रतिवेदन अनुसार निर्माण भएको संरचनाहरु पानीको उपलब्धता सहित सुचारु हालतमा सिमकोट खानेपानी उपभोत्ता समितीलाई २ महिना भित्र हस्तान्तरण गर्ने प्रतिबद्धता खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतले गर्ने बताइएको छ । उक्त आयोजनामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतले यस आर्थिक वर्षमा कार्यालयमा प्राप्त सिमकोट खानेपानी आयोजनाको विनियोजित बजेट रकमबाट पुरानो खानेपानी ट्याँकी एवं पाईप लाईन मर्मत र सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ को बजार क्षेत्रमा पाइप लाईन विस्तारको काम गरिदिन अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।
