काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म जारी हुने निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरू गरिएको हो ।
सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् ।उक्त समारोहमा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रुपमा उपस्थित थिए ।
नेपालको पहिलो रंगिन फिल्म ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ नायिका चैत्यदेवी सिंह निर्देशक समुद्र रेग्मीलगायतका चलचित्रकर्मी कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका थिए । प्रमुख अतिथि सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन् ।
ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिए । उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरेका थिए ।
पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए ।
बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवबारे महत्त्वबारे बोलेका थिए । निफका अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सबै अतिथि, चलचित्रकर्मी र पत्रकारप्रति कृतज्ञता व्यक्त गरे ।
निफमा ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिने तय भएको छ । ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ ।
रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरु निशुल्क हेर्न पाइनेछ ।
यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिनेछ । पर्यटन बोर्ड र छायाँ सेन्टरमा यी फिल्महरू निशुल्क हेर्न पाइनेछ ।
प्रतिस्पर्धामा रहेका मध्येका फिल्महरु सिभिल मल र छाया सेन्टरमा भने सशुल्क प्रदर्शन हुनेछ । निफ अन्तर्गत १० वटा अन्तर्क्रियात्मक कार्यकम राखिएको छ । जसमा विभिन्न देशका मेकरहरुले आफ्नो अनुभव सेयर गर्नेछन् ।
