काठमाडौं । ललितपुरको सानेपा क्षेत्रमा हुण्डी कारोबार तथा ठगीमा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मिति २०८२ साल चैत २३ गते दिउँसो करिब १:३० बजे ललितपुर महानगरपालिका वडा नं. ०२ सानेपा–सुन्दरीघाट आसपास सडक किनारमा केही व्यक्तिहरू हुण्डी कारोबारका लागि जम्मा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोली उक्त स्थानमा पुग्दा शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई खानतलासी पुर्जीका आधारमा शरीर तथा साथमा रहेको झोला जाँच गरिएको थियो।
जाँचका क्रममा पक्राउ परेका इन्द्र विश्वकर्माले बोकेको निलो रंगको झोलाभित्र लुकाएर राखिएको नेपाली रुपैयाँ १,००० दरका नोटहरू फेला परेका थिए।
प्रारम्भिक गणनाअनुसार झोलाभित्र रु ७ लाख ५६ हजार नगद भेटिएको थियो भने थप जाँच गर्दा रु १,००० दरका नोटजस्तै देखिने तर बीचमा सेतो कागज काटेर राखिएको १६ बण्डल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सम्पूर्ण रकम गन्दा रु ७ लाख ८८ हजार पुगेको छ। साथै, रु १,००० कै आकारमा काटिएको सेतो कागजका १६ बण्डल पनि फेला परेको छ, जसले ठगीको सम्भावित योजनातर्फ संकेत गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरूले उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको स्वीकार गरेका छन्। उनीहरू ठगी कारोबारमा समेत संलग्न रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ स्थायी घर भएका वर्ष ६० का देवकुमार लामा, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ का वर्ष ४३ का पवन तामाङ, सर्लाही बागमती नगरपालिका वडा नं. १० का वर्ष ३९ का इन्द्र बिक र सोही नगरपालिका वडा नं. ६ का वर्ष ३२ का दिनेश बिक रहेका छन्।
प्रहरीले उनीहरूलाई बरामद नगद तथा अन्य सामग्रीसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
साथै, उक्त घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पहिचान तथा सम्भावित सञ्जालबारे पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा हुण्डी कारोबार र नगद ठगीका घटनाहरू बढ्दै गएकाले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि निगरानी कडा पारिएको छ।
