गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए

Logo
Karnali Serophero बुधबार, बैशाख ०९, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय विवादमा तानिएका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएको पुष्टि भएको छ। उनले आफ्नो निर्णयबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिँदै नैतिक जिम्मेवारीस्वरूप पद छोडेको बताएका छन्।

गुरुङमाथि एक विवादित व्यवसायीसँग सेयर कारोबार सम्बन्धी संलग्नताको आरोप लागेपछि उनको पदमा बसाइ निरन्तर प्रश्नको घेरामा पर्दै आएको थियो। सार्वजनिक रुपमा ती आरोपबारे स्पष्ट जवाफ नदिएको भन्दै आलोचना झन् बढ्दै गएको थियो। यही दबाबबीच उनले पद त्याग्ने निर्णय लिएको बुझिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए, जसमा सुधन गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो। सुरुवाती चरणमा गुरुङले कडा निर्णयहरू गर्दै उच्च पदस्थ कर्मचारीमाथि कारबाही गरेर चर्चा बटुलेका थिए। तर समय बित्दै जाँदा उनका कामकारबाहीभन्दा बढी विवादले प्राथमिकता पाउन थालेपछि सरकारभित्र र बाहिर दुवैतर्फबाट दबाब बढेको थियो।

उच्च स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको छलफलपछि गुरुङले राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। पार्टीभित्रको सल्लाह र बाह्य दबाब दुवैलाई ध्यानमा राख्दै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका बताइएको छ।गुरुङको राजीनामासँगै अहिले गृहमन्त्रालय नेतृत्वविहीन बनेको छ। प्रधानमन्त्री शाहले अब नयाँ गृहमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ। यस घटनाले सरकारको स्थायित्व र पारदर्शितामाथि समेत प्रश्न उठाएको छ भने आगामी दिनमा यसको राजनीतिक प्रभाव कस्तो रहने भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला