सुर्खेत । बिरेन्द्रनगर नगरपालिकाको केही निजी विद्यालयहरूको वार्षिक शुल्कमा अस्वाभाविक वृद्धि भएको भन्दै अभिभावकहरू आक्रोशित बनेका छन्। २०८१ देखि २०८३ सम्मको वार्षिक (Annual) शुल्क तुलना गर्दा केही विद्यालयहरूले एकै वर्षमा शुल्क झण्डै पाँच गुणासम्म बढाएको देखिएको छ।
साथै उदाहरणका रूपमा, केही विद्यालयमा पहिले रु. १,३०० रहेको वार्षिक शुल्क अहिले बढेर रु. ६,००० सम्म पुगेको अभिभावकहरूको दाबी छ। यसरी छोटो समयमै भएको शुल्क वृद्धिले अभिभावकहरूलाई आर्थिक भार थपिएको उनीहरूको भनाइ छ। अभिभावकहरूको आरोप अनुसार, केही विद्यालयहरूले एडमिसन (भर्ना) शुल्क नलिने नीतिको सट्टामा विभिन्न शीर्षकहरू परिवर्तन गरी अन्य शुल्कहरू बढाएर असुली गर्ने प्रवृत्ति देखिएको छ। उनीहरूले यसलाई लुटतन्त्रको रूपमा व्याख्या गर्दै गरेका छन्। शिक्षा क्षेत्रमा पारदर्शिता र शुल्क नियन्त्रणबारे सरकारी निकायको प्रभावकारी अनुगमन कमजोर रहेको पनि अभिभावकहरूको गुनासो छ। र शुल्क संरचनामा स्पष्ट मापदण्ड नहुँदा निजी विद्यालयहरूले मनपरी ढंगले शुल्क बढाउन सक्ने अवस्था सिर्जना भएको उनीहरूको तर्क छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले भने शुल्क वृद्धि र यसको आधारबारे पारदर्शी छलफल आवश्यक रहेको बताएका छन्। साथै, अभिभावक र विद्यालयबीचको असन्तुलन कम गर्न स्पष्ट नीति र कडा अनुगमन प्रणाली आवश्यक रहेको उनीहरूको सुझाव छ।

