पुर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा

Logo
नन्द सिंह आइतबार, आषाढ २१, २०८३

हुम्ला । हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजना तथा जिल्ला खोप समन्वय समितिको सहकार्यमा आइतबार हुम्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो । आवश्यक सूचकहरू पूरा भएको पुष्टि भएपछि हुम्ला जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन गर्न आवश्यक व्यवस्थापन, जनशक्ति र अनुगमन प्रणाली सुदृढ भएका आधारमा घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो ।

डाक्टर तिवारीका अनुसार ० देखि १५ महिनासम्मका १ हजार ३७ जना र १६ महिनादेखि ५९ महिनाका २ हजार ३३४ गरि जम्मा ३ हजार ३७१ जना बालबालिका पुर्ण खोपबाट लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट जिल्ला भए पनि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण पूर्ण खोप दिगोपना सुनिश्चित गर्न सफलता प्राप्त भएको डाक्टर तिवारीको भनाइ छ ।

कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले अब घोषणा मात्र नभई यस उपलब्धिलाई दीर्घकालसम्म कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी रहेको धारणा राख्नुभयो । जिल्लामा नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्नका लागि सरोकारवाला निकायको थप भूमिका प्रभावकारी हुनु पर्ने खोप समन्वय समिति संयोजक शिवराज शर्माले बताउनुभयो । उहाँले प्रत्येक वडामा नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएर जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा हुम्लाको सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैले हस्ताक्षर गरि प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला