हुम्लामा एचआईभीबारे अभिमुखीकरण

Logo
Karnali serophero मंगलबार, आषाढ २३, २०८३

हुम्ला । एचआईभी/एड्स सम्बन्धी भ्रम, विभेद र सामाजिक कलंक न्यूनीकरण गर्ने उद्देश्यले हुम्लामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, महिला तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि, सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चिन रावत तथा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका मेडिकल अफिसर डा. विशाल बुढाले एचआईभी संक्रमण, यसको रोकथाम र उपचारबारे विस्तृत जानकारी दिएका थिए। उनका अनुसार एचआईभी मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भाइरस हो।

समयमै परीक्षण र उपचार नगरेमा यसले एड्सको अवस्था निम्त्याउन सक्छ। डा. बुढाले असुरक्षित यौन सम्पर्क, संक्रमित रगत वा रगतजन्य पदार्थको प्रयोग, संक्रमित सुई–सिरिन्जको प्रयोग तथा संक्रमित आमाबाट गर्भावस्था, सुत्केरी वा स्तनपानका क्रममा बच्चामा संक्रमण सर्न सक्ने जानकारी दिए । उनले समयमै परीक्षण, नियमित उपचार र जनचेतना नै संक्रमण नियन्त्रणका प्रभावकारी उपाय भएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष शिवराज शर्माले एचआईभीबारे समाजमा अझै पनि धेरै भ्रम र विभेद रहेको बताए। उनले हात मिलाउँदा, अँगालो हाल्दा, एउटै भाँडामा खाना खाँदा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट एचआईभी नसर्ने स्पष्ट पार्दै संक्रमित व्यक्तिप्रति सम्मानपूर्ण व्यवहार गर्न सबैलाई आग्रह गरे।

उनका अनुसार एचआईभी संक्रमित व्यक्तिमा लामो समयसम्म कुनै लक्षण नदेखिन पनि सक्छ। तर संक्रमण बढ्दै जाँदा लगातार ज्वरो आउने, अत्यधिक थकान हुने, घाँटी दुख्ने, तौल घट्ने तथा लसीका ग्रन्थि सुन्निने जस्ता लक्षण देखिन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउन आवश्यक छ।

सोमबार बिहान ११:३० बजेदेखि सिमकोटस्थित शक्ति कटेजमा सञ्चालन भएको कार्यक्रममा एचआईभी सम्बन्धी सही जानकारी प्रवाह गर्दै समाजमा रहेको विभेद अन्त्य गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला