हुम्ला । हुम्लामा लागूऔषधको खेती, बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सातबुँदे निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा बिहीबार साँझ ४ बजे बसेको बैठकले लागूऔषध नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो ।
बैठकले जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका वा व्यावसायिक रूपमा गरिएका लागूऔषधजन्य गाँजालगायतका खेती नष्ट गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्लाभित्र औषधि बिक्री वितरण गर्ने पसलहरूमा सम्बन्धित निकायमार्फत नियमित अनुगमन गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
डाक्टरको प्रेस्क्रिप्सनबिना लागूऔषधजन्य तथा मनोद्विपक औषधि बिक्री वितरण गर्ने मेडिकल हल तथा फार्मेसीहरूको आकस्मिक अनुगमन गरी कारबाही गर्ने निर्णय बैठकले गरेको छ । लागूऔषधको प्रयोग तथा दुरुपयोग नियन्त्रणका लागि युवा तथा विद्यार्थीलाई लक्षित गरी जिल्लाका विद्यालय र क्याम्पसमा सम्बन्धित सरोकारवाला निकायको समन्वयमा समय–समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
त्यस्तै, लागूऔषधको दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको छ । स्वास्थ्य सेवा कार्यालय र सम्बन्धित संस्थाहरूले त्यस्ता व्यक्तिलाई निःशुल्क काउन्सिलिङ तथा उपचारको व्यवस्था मिलाउने निर्णयमा उल्लेख छ ।
जिल्लाका सीमा नाका, राजमार्ग तथा शङ्कास्पद स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत विशेष चेकिङ तथा गस्ती बढाइने भएको छ । लागूऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निगरानी प्रभावकारी बनाउने समेत निर्णय गरिएको हो ।
यसैगरी, जिल्लाका सबै पालिकाअन्तर्गत रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागूऔषधको ओसर, प्रसार तथा सेवनविरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । त्यस्ता कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा अभिभावक तथा सरोकारवाला निकायलाई समेत जानकारी गराउनुपर्ने भएकाे उल्लेख छ ।
लागूऔषधको प्रयोग र कारोबार नियन्त्रण गर्दै युवापुस्तालाई यसको दुष्प्रभावबाट जोगाउन सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, विद्यालय तथा अन्य सरोकारवाला संस्थाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले बैठकले यी निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताउनुभयाे ।
