चाडपर्व लक्षित सिमकोट बजार अनुगमन

Logo
नन्द सिंह बिहिबार, आश्विन २२, २०८३

हुम्ला । चाडपर्वलाई लक्षित गर्दै हुम्लाको सदरमुकाम सिमकोट बजारमा खाद्यवस्तु तथा मासुजन्य पसलको अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणसँगै बजारमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्ने उद्देश्यले सिमकोट गाउँपालिकाले बजार अनुगमन गरेको हो ।

बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन गरिएको अनुगमनका क्रममा सिमकोट बजारका २६ वटा खाद्यवस्तु तथा मासुजन्य पसलको निरीक्षण गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाले जानकारी दिनुभयो ।

अनुगमनको पहिलो दिन खाद्यवस्तु बिक्री गर्ने १३ वटा पसलको निरीक्षण गर्दा जुस, मसला र पिठोलगायत सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए । ती सामग्रीको कुल मूल्य छ हजार आठ सय ६५ रुपियाँ बराबर रहेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो ।

म्याद गुज्रिएका सामग्री सोही दिन नियन्त्रणमा लिएर नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । चाडपर्वका बेला खाद्यवस्तुको खपत तथा कारोबार बढ्ने भएकाले बजारमा बिक्री हुने सामग्रीको गुणस्तर, म्याद, मूल्य तथा मासुजन्य पदार्थको सरसफाइ अवस्था लगायतका विषयमा अनुगमन गरिएको हो । उपभोक्तालाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खाद्यवस्तु उपलब्ध गराउन व्यवसायीलाई आवश्यक सुझावसमेत दिइएको जनाइएको छ ।

सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय हुम्ला र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरिएको हो । अनुगमन टोलीमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हितलाई प्राथमिकतामा राखेर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको थियो । विशेषगरी खाद्यवस्तुको म्याद, मूल्यसूची, सरसफाइ तथा मासुजन्य वस्तुको सुरक्षित भण्डारणमा ध्यान दिन सुझाव दिइएको छ ।

चाडपर्वका समयमा बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । बजार अनुगमनबाट व्यवसायीलाई जिम्मेवार बनाउन तथा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला