सडक अवरुद्धले हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

Logo
नन्द सिंह बिहिबार, आश्विन २२, २०८३

हुम्ला । नाम्खा गाउँपालिका–६ लिमीमा सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि लैजान स्थानीयले महँगो रकम खर्चेर हेलिकप्टरको साहारा लिनुपर्ने बाध्यता देखिएको छ ।

सडकमार्ग हिउँका कारण अवरुद्ध भएपछि पाठेघरमा क्यान्सरको समस्या देखिएकी लिमीको हल्जी गाउँकी ३४ वर्षीया सोनाम लामु तामाङलाई बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाइले बताउनुभयाे ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई जिल्ला बाहिर लगिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरागाइका अनुसार जिल्लामै पाठेघरको क्यान्सरसम्बन्धी विशेषज्ञ उपचारको व्यवस्था नभएकाले तामाङलाई नेपाली सेनाको 9N-055 हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

सडकमार्ग सञ्चालनमा रहेको भए बिरामीलाई स्थलमार्गबाटै अस्पतालसम्म पुर्‍याउन सकिने भए पनि लिमी जाने सडकमा दुई सातादेखि हिउँ जमेर यातायात पूर्ण रूपमा बन्द भएपछि हेलिकप्टर प्रयोग गर्नुपरेको तामाङका श्रीमान् ठिले दोर्जी लामाले गुनासमे गर्नुभयाे ।

बिरामीलाई समयमै उपचारका लागि लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएपछि परिवारमाथि ठूलो आर्थिक भार परेको लामाकाे भनाइ छ ।

विरामिका लागि केन्द्रीय विपद व्यवस्थापन समितिले आर्थिक सहयाेग गरेकाे भए पनि परिवारलाई अन्य थप भार परेकाे छ ।
असोज दोस्रो सातातिर परेको हिमपातका कारण लिमी, न्यालु तथा हिल्सालगायतका सडकखण्ड अवरुद्ध छन् । लामो समयदेखि सडक सञ्चालनमा नआउँदा सामान्य उपचारका लागि समेत स्थानीयले कठिनाइ भोग्दै आएका छन् ।

विशेषगरी जटिल अवस्थाका बिरामीलाई तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्थामा हेलिकप्टरबाहेक अर्को विकल्प नहुँदा परिवारले ठूलो आर्थिक जोखिम उठाउनुपर्ने अवस्था छ।

हुमलाका विपन्न तथा दुर्गम क्षेत्रका महिलालाई उपचारमा सहयोग पुर्‍याउँदै आएको भए पनि सडक अवरुद्ध हुने समयमा उद्धारका लागि हेलिकप्टरमै निर्भर हुनुपर्ने अवस्थाले स्थानीयलाई थप आर्थिक तथा भौगोलिक कठिनाइमा पार्ने गरेको छ।

लिमीमा सडक नियमित सञ्चालन नहुँदा बिरामी मात्र नभई दैनिक उपभोग्य वस्तुको ढुवानी, खाद्यान्न आपूर्ति र स्थानीयको आवतजावतसमेत प्रभावित हुने गरेको छ । स्थानीयले सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउन आवश्यक पूर्वाधार तथा हिउँ हटाउने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

सडक अवरुद्ध भएका कारण बिरामीको उपचारमा ढिलाइ हुने र समयमै अस्पताल पुर्‍याउन हेलिकप्टरको सहारा लिनुपर्ने अवस्थाको अन्त्य गर्न लिमी सडकलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।


 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला